आज यमपञ्चकको दोश्रो दिन : कुकुर तिहार

आज यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार ।

आज मानव सभ्यताको प्रारम्भदेखि मानवजातिको प्रिय साथीको रूपमा रहँदै अाएको कुकुरलाई पुजा गरिने दिन ।

सनातन धर्ममा कुकुरको विशेष महत्व छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक रहेको एउटा बफादार जनावरको रूपमा लिइन्छ । ऋगवेदमा प्रष्टसंग ‘समरा’को बारेमा उल्लेख गरिएको छ । ‘समरा’ अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा ईन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग उल्लेख छ । हिन्दु परम्परा अनुरुप कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दुत मान्ने गरिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन छ । महाभारतमा पनि सत्यवादी यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्य मार्गको प्रतिनिधीकारुपमा पनि लिइन्छ । तन्त्रसाधक, निडर, अति शक्तिशाली भगवान भैरवको वाहन पनि कुकुर नै हो ।

चाणक्य नीतिमा पनि कुकुरलाई पातलो निन्द्राभएको बफादार अनि चनाखो साथै थोरै खाएर भएपनि सन्तुष्ट हुनसक्ने प्राणिकारुपमा ब्याख्या गरिएको छ । यि त भए शास्त्रका कुरा तर आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्षबाहिर परिक्रमागर्दै अन्तरिक्षमा सन् १९५७ मा ‘लाइका’ नामक कुकुर पुगेको हो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको ‘हाछिको’ नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्त स्वरुप बनाइएको चलचित्र ‘हाछिको’ आजपनि विश्वभरि लोकप्रिय छ र उक्त चलचित्र हेरेर धेरै आँखा रसाएका छन् ।

कतिपय मान्छेहरुलाई कुकुरको भुकाइ दिक्कलाग्दो बन्नसक्छ तर उसको भुकाइ सुरक्षार्थ भरपर्दो संकेत पनि हो । जसका कारण कुकुर अझैपनि असली पहरेदार बनिरहेको छ । घर फर्किंदा पुच्छर हल्लाँउदै लुरुक्क छेउमा आउने कुकुरहरु वास्तवमैं मानव समाज अनि परिवारको एउटा अभिन्न सदस्य हुन भन्ने कुरा अन्यथा नहोला ।

आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुनेछ भन्ने मानिन्छ । तसर्थ सबेरै उठेर प्रातस्नान गरेर कुकरपूजा गर्ने चलन छ । कुकुर तिहारका दिन बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिणतर्फ बालेर बगाउनाले मृत्युपछि नरकको सामना गर्नुनपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भन्ने गरिन्छ।

यमपञ्चकको दोश्रो दिन कुकुर तिहारको शुभकामना

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.